काठमाडौं ,श्रावण ७- नेपालका नेवा: समुदायले आज गठामुङ्ग चह्रे मनाउदै छन् ।श्रावण महिनामा मनाइनेउअस पर्व सङ्गै चाड पर्वहरुको शुरूवात भएको मानिन्छ।काठमाडौं उपत्यकामा मनाइने हरेक चाड पर्वमा जस्तै यस पर्वको पनि कथा रहेको छ।
गठामिङ्गकाे कथा
श्रावणकृष्ण चतुर्दशीका दिन मनाइने पर्व गठांमुगल (गथांमुगः) हो । नेवार जातिले खेतीपातीको काम सकिने बित्तिकै मनाउने पहिलाे चाड गथांमुगः हो । यसपछि अरू चाडबाडहरू लहरै आउँछन् । कोही कोही यसलाई 'छोरा पर्व (काय्मचा नखः)' पनि भन्ने गर्छन् । जसरी सिथि नखःलाई छाेरी पर्व ( म्ह्याय् मचा नखः) भनिन्छ ।
इतिहासकार शंकरमान राजवंशीको भनाई अनुसार मानिस मर्दा अन्तिम संस्कारकै क्रममा छ्वास (टोलको दोबाटो) मा मरेका व्यक्तिको लुगाफाटो फाल्नु पर्दछ । त्यही स्थानलाई गणस्थान मूलगढ भनिन्छ । यही 'मूलगढ' शब्दका केही अक्षरहरू यताउति गरी 'गथांमुगः' बन्न गएको हो । गठांमुगललाई नर्कटको तीनखुट्टा बनाई ठड्याइन्छ । तीन खुट्टामा उभ्याउनु भनेको त्रिपद संवर भैरवको प्रतीक हो। यो भैरवलाइ त्रिशक्ति (सत्व, रज र तम) माथि तीन पाइला राखी उभ्याइन्छ । गठांमुगल शिव शक्तिको प्रतीक अर्थात अर्धनारीश्वर हुन् । त्यसैले गठांमुगल ठड्याउँदा कतै कतै एकातिर नारी लिङ्ग र अर्कोतिर पुरुष लिङ्ग लेखेर टाँस्ने गरिन्छ । गठांमुगललाई सृष्टिको प्रतीकको रुपमा पनि लिने गरिन्छ । कुनै गठांमुगल भैरव भए कुनैलाई अजिमा मान्ने गरिन्छ । क्षेत्रपालमा ठड्याइने गठांमुगललाई भैरव र छ्वासमा ठड्याइने गठांमुगललाई अजिमा मानिन्छ ।
त्यस्तै गठांमुगलमा भैरव वा अजिमा अथवा राक्षस वा राक्षसनीको मुखौटो राखेर तलतिर लिङ्ग लेख्ने वा बनाउने चलन पनि छ । बार्हा तयेगु गरिसकेका ( गुफा राखी सकेका) केटीहरूलाई पुरुष गठांमुगल ढोगाउने चलन छ। गुफा राख्नु भनेकै यौनसम्बन्धी ज्ञान दिने संस्कार हो। गुफा संस्कार पछि उन्मत्त भैरव वा पुरुष गठांमुगलमा ढोग्न लाउनु भनेको नारीलाई सृष्टिक्रिया बारे परोक्ष रूपमा परिचित गराउनु पनि हो। त्यस्तै गठांमुगललाई भूत मान्ने चलन पनि छ । यिनलाई हिन्दूहरू शिवपार्वतीका रूपमा लिन्छन् भने बौद्धमार्गीहरू भैरव वा अजिमाको रूपमा मान्छन् । विधि फरक भए पनि गठांमुगललाई पुरुष र स्त्री दुवै रूपमा लिने चलन भने व्यापक छ ।
गथांमुगःलाई घन्टाकर्ण पनि भन्ने गरिन्छ । गथांमुगःमा घन्टा झुण्ड्याउने बारे विभिन्न लोकोक्तिहरू सुन्न पाइन्छ । त्यतिबेला एकजना मानिस थिइ जो देवताको नाम सुन्न चाहँदैनथ्यो । देउताको नाम सुन्नु पर्ला भनेर उनी कानमा ठूलठूला घन्टाहरू झुण्ड्याएर हिँड्ने गर्थे । उनी गरीबहरूप्रति भने अत्यन्त सहानुभूति राख्ने गर्दथे । एकदिन त्यो व्यक्तिको मृत्यु भएछ । मृत्यु पछि टोलमा पैसा उठाएर उनको सतगति गरिएछ । त्यसैले गठांमुगलमा पैसा उठाउने चलन चलेको हो भनिन्छ ।
कसै कसैको विचारमा गठांमुगल र घन्टाकर्ण एउटै होइन भन्ने पनि छ । उनीहरूका अनुसार घन्टाकर्ण एक कट्टर शिवभक्त हुन् । भगवान शिव बाहेक अरूको नामै सुन्न नपरोस् भनी उनले कानमा घण्टो झुण्ड्याएका हुन् । काशी क्षेत्रमा घन्टाकर्णको पोखरी छ । त्यहाँ शिवलिङ्ग धारण गरेका घन्टाकर्णको मूर्ति पनि रहेको छ । उक्त पोखरीको नामै 'घन्टाकर्ण पोखरी' हो। यो ठाउँमा घन्टाकर्णको मूर्ति स्थापना गरी काशीका जनताले उनलाई दानवको रूपमा होइन ईश्वरको रूपमा मान्ने गरेका छन् । त्यसैले गठांमुगल र घन्टाकर्ण एउटै हो भन्न नरुचाउनेहरू पनि छन् ।
त्यस्तै अर्को कथन छ, उहिले एकजना यस्तो मान्छे थिए जो सुनचाँदी भन्दा फलामको गहनामा विश्वास राख्थे । उनी ठूला विद्वान भएपनि जातमा भने साना थिए । एकजना धनी व्यक्तिकी छोरीसँग उनको प्रेम रहेछ । यो कुरा थाहा पाएर ती धनीले आफ्नी छोरी सानो जातको मान्छेसँग पोइल गएमा आफ्नो बेइज्जत होला भन्ने डरले तिनलाई जिउँदै जलाइदिएछन् । पछि टोलबासीले वास्तविकता थाहा पाएर सम्मानपूर्वक उनको अन्त्येष्टि गरेछन् ।
त्यस्तै अर्को भनाई पनि छ, उपत्यकामा गठांमुगल भन्ने एउटा राक्षसले साह्रै दुःख दिने गरेको रहेछ । एकदिन त्यसलाई मार्न एउटा तान्त्रिक भ्यागुताको रूप लिई राक्षस आउने बाटोमा ढुकेर बसिरहे । राक्षस आउनेबित्तिकै उनले राक्षसलाई जिस्क्याउन थाले। रिसले चुर भएका राक्षसले भ्यागुतालाई मार्ने खोजे । तर भ्यागुता उफ्रेर भागे। राक्षसले पनि लखेट्न थाले । भाग्दै गरेका भ्यागुतो एउटा पानी जमेको दलदलभित्र लुक्न पुगे । राक्षस पनि दलदल मै पसे । भ्यागुतो दलदलबाट निस्के तर राक्षस भने त्यहीं फँसेर मरे। पछि टोलमा जगात उठाएर एउटा पोडेको हातबाट उक्त राक्षसको अन्त्येष्टि गराए ।
१) गठांमुगःको घरघरमा गरिने पूजा विधि
नेवार समाजमा गठांमुगःको छुट्टै स्थान छ। यो पर्व विशेष गरी चोखोनितो भएर मनाइने भए पनि उक्त दिन घरघरमा मासु, रगतमासी, छाला, हाड, आन्द्राभूडि आदि थरिथरिका काँचो मासु, जाँड, लसुन, छ्यापी बौस्वां इत्यादी च्वकाबजि (च्यूरा) मा बौ राखी पन्छाउने चलन छ । बौ राख्दा त्यसमा रक्सी तथा जाँडको कः (जाँड निकालिसके पछिको चोकर) पनि राख्ने चलन छ । यसरी बलि भाग पन्छाउन लाँदा कसैले बिहानै पूजा गरेर त्यसलाई गठांमुगः भएको ठाउँमा राख्ने गर्छन् भने कसैले दोबाटो वा पीठमा पन्छाउने गर्छन् । त्यसरी चढाइने बलिभागमा रक्सी वा जाँड तर्पण गरी पूजा गर्ने चलन पनि छ । बलि पन्छाउने एउटै भए पनि भिन्न भिन्न तरिकाले पूजा गरेको देखिन्छ । तान्त्रिक पूजा गर्नेहरूले सिन्हः पूजा वा कलश पूजा गरी त्यसमा प्रसाद समेत चढाउने गर्दछन् । यसरी बलि दिँदा बलि पन्छाउन गएका मानिस घर फर्केपछि घरको ढोकापिच्छे पूजा गरी भूतप्रेत भित्र पस्न नसक्ने मन्त्र लेखिएको महाजन्त्र ढोका माथि टाँसेर चौकोसमा तीन काँडे स्वकिं वा फलाम ठोकेर पूजा गरिन्छ । यो सँगै विभिन्न किसिमका धूपहरू, सर्फ्यू, रायो, बेसार आदि राखेर बाल्ने गरिन्छ । यसको धुँवाले लामखुट्टे लगायत विषालु किरा फट्यांग्राहरू निर्मूल हुन्छ भन्ने मान्यता रहेको छ। यसरी पूजा गरिसके पछि बाहिरैदेखि पूजा गर्दै ढोका पनि बन्द गर्दै आउने गरिन्छ। कोही कोही यसरी ढोका थुनेर आइसकेपछि पुरूसं बसेर पूजा गर्नेहरू पनि छन् । कसै कसैको भने बलि मन्छाउनु अघि नै पूजा गर्ने चलन पनि छ ।
यी सबै कार्य सकेपछि भोज खाने चलन छ । भोज खानु अघि बलिमा लसुन, छ्यापी, अदुवा, खोर्सानी, हाकु छ्वय्ला राखी समय्वजी चढाएर खाने गरिन्छ । गठांमुगःमा ढोका ढोकामा मात्र फलामे काँटी ठोक्ने नभई ससाना बालबालिकालाई फलामको कल्ली लगाई दिने, ठूलाहरूले पञ्चधातु- फलाम, पित्तल, तामा, चाँदी वा सुनको औंठी लगाउने चलन छ । त्यस्तै तुनामा खाइसि ..... बाँधी दिने चलन पनि छ । यसरी खाइसि बाँध्ने, फलाम वा पञ्चधातुको औंठी लगाउनाले भूत प्रेत नलाग्ने मात्र होइन उनीहरू ठाउँ छोडेर भागेरै जान्छन् भन्ने भनाई छ ।
२) गथांमुगःमा चाहिने सरजाम
बौस्वां
च्वका बजि
बौपाः
राँगाको रगत, हाड, आन्द्राभुँडी, फोक्सो, कलेजो, छाला
रक्सी, जाँड र जाँडको छाेक्रा
समय् परिकार - कालो भटमास, अदुवा, स्या बजी, च्यूरा, छ्वय्ला, लसनु, छ्यापी फलामको स्वकुंपाः, फलामको काँटी, फलाम वा पञ्चरत्न, औंठी धुप सस्यूँ, मुजुरको प्वाँखको धुलो, श्रीखण्ड, बेसार, धुपको धुलो आदि मिलाएर बनाइको धुप ।
३) धुप लगाउने
हाकु छ्वय्ला पोलेर घरमा मासुको धुँवा लाउने चलन पनि छ । त्यतिबेला घरघरमा बलि दिने मात्र नभई भूतप्रेत आदि खराब तत्वहरू घरमा प्रवेश नहोस् भनेर मूलढोकाका साथै कोठाहरूमा पनि जन्तर टाँस्ने चलन छ । कसै कसैले भूतप्रेत भगाउन छ्वाली बालेर घरभरी धुँवा लगाउने पनि गर्छन् ।
उमेश स्थापित