काठमाडौं । हालै भ्रष्टाचार, कुशासन र सामाजिक सञ्जाल बन्दको विरोध गर्दै स्फूर्त रूपमा सडकमा उत्रिएको जेन जि (Gen-Z) पुस्ताले पाँच बुँदे माग सार्वजनिक गरेको छ। आन्दोलनकारी युवाहरूले चेतावनी दिएका छन्, “यी माग पूरा नभएसम्म हाम्रो आन्दोलन निरन्तर जारी रहनेछ।”
जेन जि युवाहरूका पाँच प्रमुख माग यसप्रकार छन् :
१. संसदको तत्काल विघटन
२. सांसदहरूको सामूहिक राजीनामा
३. गोली हान्न आदेश दिने र हिंसक दमन गर्ने उच्च अधिकारीलाई तत्काल निलम्बन
४. युवाहरूले सिफारिस गरेको कुनै एक व्यक्तिको नेतृत्वमा अन्तरिम सरकार गठन
५. अन्तरिम सरकार अन्तर्गत छिट्टै निर्वाचन
आन्दोलनमा सहभागी युवाहरूले भनेका छन्, “हामी परिवर्तनको पुस्ता हौं, डर र दमनले हामीलाई रोक्न सक्दैन।” उनीहरूले जनतामाथि गोली चलाउने घटनालाई लोकतन्त्रको हत्या भन्दै दोषीलाई कडा कारबाही गर्नुपर्ने माग गरेका छन्।
हालैको घटनामा शान्तिपूर्ण आन्दोलनमा सहभागी १९ जना युवाको ज्यान गएपछि आन्दोलन अझ चर्किएको छ। राजधानीसहित देशभर विरोध प्रदर्शन भइरहेका छन्। जेन जि पुस्ताले आफ्ना माग पूरा नभएसम्म आन्दोलनलाई थप संगठित बनाउँदै लैजाने चेतावनी दिएको छ।