ललितपुर ,श्रावण -२४- आज ललितपुर बुङ्ग्मतिमा मतया पर्व मनाइँदैछ।जीवनको एक मात्र यथार्थ मृत्यु हो । जन्मे पछि सबै प्राणीको मरण हुन्छ, यो ध्रुव सत्य हो । आफ्ना प्रियजनको मृत्यु हुनु ठूलो दुःख हो , यसलाई स्विकारेर सन्तुष्ट हुनु बाहेक मान्छेसँग अर्को विकल्प छैन । परापुर्वकाल देखि नै यो कुरा मान्छेहरुले बुझेका थिए जसको अभिव्यक्ति हामीले हाम्रो सँस्कृतिमा पाउन सक्छौं । मतया: नेवा: समुदायको यस्तो सँस्कृति हो जसले मृत्युलाई स्वीकार गर्न सिकाएर कसैको मरण पछि गर्नु पर्ने कर्तव्यलाई अवगत गराउन पनि प्रेरित गर्दछ। यो बौद्ध दर्शन बाट अभिप्रेरित सँस्कृति हो ।
मतया: , मत र याः मिलेर बनेको शब्द हो । मत भनेको दियो/ दिप यानी प्रकाश भनेर बुझिन्छ भने या: भनेको यात्रा भनेर बुझिन्छ ।यस अर्थमा बौद्ध स्मारक चैत्यहरुमा दिप बाली प्रकाश उत्पन्न गराएर गरिने यात्रा नै मतयाः हो । प्रकाश मात्र त्यस्तो चिज हो जसको उपस्थितिमा मात्र अन्धकार हटेर जान्छ। बौद्ध दर्शनमा अन्धकारको अर्थ अज्ञानता पनि हो र अज्ञानताको अन्धकार हटाउन ज्ञानको प्रकाश चाहिने हुन्छ । राजकुमार सिद्धार्थ बुद्ध बन्नका लागि ६ वर्ष सम्म साधना गरेर अन्तिम रातमा जब ध्यानमग्न भइरहेका थिए तब मार आएर उनलाई बाधा दिन आए । कहिले सुन्दर नर्तकीको भेषमा त कहिले क्रुर राक्षसको भेषमा आएर सिद्धार्थ गौतमलाई बेचैन बनाउन कोशिश गरे तर उनलाई हल्लाउन सकेनन्, बुद्ध बन्न चार असंख्य र एक लाख कल्प देखि संकल्प गरेका सिद्धार्थ कुमार मारलाई पराजित गरि अन्तत्वगोता बुद्ध बनेरै छाडे र सर्वज्ञता हासिल जरेर प्रकाशमय बने । यसै मारविजयको उत्सवलाई बौद्धहरुले दिप प्रज्वलन गरेर मनाउन थाले जुन मतयाःका रुपमा काठमाडौंका नेवारहरुले मनाइरहेका छन् भन्ने एउटा धारणा रहेको पाइन्छ । पं हेमराज शाक्यको अनुसार १६ सय वर्ष अघि राजा बालार्चनदेवले जेतवर्ण महाविहार स्थापना गरेको खुशियालीमा यस मतयाः पर्वको सुरुवात गरेका थिए , त्यस्तै डानियल राइतले राजा गुणकामदेवको पालामा यसको पुनर्जागरण भएको कुरा मान्दछन् । त्यस्तै मल्ल राजा सिद्धि नरसिंह मल्लले महामारी अन्त्य गर्न मतयाः पर्वलाई अझ झकिझकाउ गरेको सन्दर्भहरु पनि पढ्न पाइन्छ ।
बुङ्गमतीमा मतयाः विशेषतः जसको घरमा मृत्यु भएको छ त्यस परिवारका सदस्यहरु उपस्थित हुनु पर्दछ । यसमा बर्खीमा बसिरहेका पुरुष सहित परिवारका अन्य सद्स्यहरु पनि सामेल हुनु पर्दछ भने स्वइच्छाले पनि सामेल हुन सक्छन् । स्वइच्छाले विशेषतः टोल टोलका महिलाहरु आफ्नै विषेश पहिरन बनाई यात्रा गरी विभिन्न वस्तुहरु देउताहरुलाई चढाउने गर्छन् । त्यसैले आजकालको भाषामा यो फेसन शो गर्ने एउटा परम्परा पनि हो भन्नू अतिसयोक्ति नहोला।
मतयाःमा जानेहरु मृत्यु भएर गएका व्यक्तिलाई सुगती कामना गरी अन्धकारमय दुःखमय ठाउँमा कहिल्यै नपरोस्, सदैव प्रकाशमय ठाउँमा जन्म लिन पाओस् भनेर दिप प्रज्वलन गर्दै यस यात्रामा सदिक हुने गर्छन् भने आफ्नो परिवार भित्र शान्ति र सुखको पनि कामना गर्दछन् ।यस क्रममा बुङ्गमतीका सबै बही बहा चोकमा रहेका ४६ वटा चैत्य तथा धर्मधातुहरु सङ्गै बुङ्गमतीका कुना काप्चामा रहेका ३०० भन्दा बढी देव देवताहरु भएको ठाउँ ठाउँमा दिप प्रज्वलन गर्दै यात्रा गर्नुपर्दछ । विषेशतः स्थानीयहरु कपुरको बास्नादायी दिप बाल्न रुचाउछन्, यसो गर्दा ती देवदेवताहरुले परिवारको सन्देश सुन्ने र मृत्यु भएका व्यक्तिलाई सुख भएको ठाउँमा पुर्याउन चेष्टा गर्छन् भनेर विश्वास गरिन्छ। दिप प्रज्वलनका साथै विभिन्न अन्नका प्रकार जस्तै गुत बिव ( ९ प्रकारका अन्न), खिर, सानो माटोको पात्र (ग्वल्प्वा) मा चामल, फुलको प्रकार भ्वँ स्वाँ( कागजी फुल) , सि स्वाँ ( मैनको फुल), ग्वजा( चिउरा मुछेर बनाइएको सानो प्रतिमा), जजंका ( धागोको माला) इत्यादी पनि ती देवताहरूलाई चढाउने गर्दछन् । यस यात्रा मच्छिन्द्रबहालबाट सुरु हुँदै सबै ठाउँ गल्ली चोक घुम्दै छ्यासिकोटसम्म पुगेर पुनः मच्छिन्द्रबहाल पुगेर नै समापन गर्नु पर्ने हुन्छ ।
मतयाः को अर्को रमाइलो पक्ष भनेको यस यात्रामा बुङ्गमतीका सबै बाजागाजा, लाखे नाच पनि आउनु पर्ने हुन्छ । यात्राको सुरुमा लाखे नाच नचाइन्छ जसलाई पछ्याउदै काँ बाजा, नाय खिं बाजा र न्येकु बाजा आउने गर्दछ । अनि बुङ्गमतीका अन्य बाजाहरु दाफा बाजा, धा बाजा , धिमे बाजा साथै सबै भजन मण्डलहरु र तुत गाउने समुह पनि आउनु पर्ने परम्परा भए नि आजकाल केही समुहको मात्र उपस्थिति रहेको पाइन्छ । ती बाजाहरु पछ्याउदै स्थानीय महिलाहरु र बर्खी बसेका पुरुषहरु दिप प्रज्वलन गर्दै यात्रामा सामेल हुन्छन् र अन्त्यमा पोङ्गा बाजा बजाउने पेंता खलःहरु पनि उपस्थित भई यात्रालाई तुङ्ग्याउछन्। यात्राको बिच बिचमा केही समुहहरु ख्याली आई ख्याल ठट्टा गरी यात्री तथा दर्शकहरुलाई हँसाउन पनि प्रयास गरिरहेका हुन्छन् । यी सबै गतिविधिको सन्देश नै दुःख परेको बेलामा पनि एक छिन् भए पनि मनोरञ्जन लिई अनित्यता र दुःखको यथार्थलाई स्विकार गरी खुशी भई मनलाई थम्याउन पर्छ भन्ने हो ।
मतयाः काठमाडौं उपत्यकाको ललितपुरमा मात्र हुने गर्दछ किनकी यहाँ बौद्धहरुको बाक्लो उपस्थिति रहेको छ, काठमाडौंमा यस्तै यात्रा 'उपाकु' वनेगु भनेर एक महिना पछि हुन्छ , भक्तपुरमा भने हुदैन । किर्तिपुरमा भने बाहा चाहिलेगु भनेर मनाइने गरिन्छ। अरु वस्तीमा सापारु वनेगु भनेर छुट्टै तरिकाले मृतकहरुको सम्बोधन गरिन्छ । ललितपुरको बुङ्गमतीमा मात्र आज यानी पुर्णिमाको दिन मतयाः हुने गर्दछ। अाज दिउँसो ३ बजे देखि सुरु भई साँझ ८ बजे तिर अन्त्य हुन्छ । ललितपुरको पाटन, सुनागुथि र थेच्वमा भने पर्सिमात्र मतयाः आयोजना हुने गर्दछ। अाज बुङ्गमतीमा मतयाः सकेपछि मध्यरातमा पाटनको चार थुर लिन जाने पनि चलन रहेको छ र पछि चकमाद्य मिननाथ मन्दिर को दाहिने रहेको जन्मद्वारमा दिप प्रज्वलन गर्नुपर्दछ ।
लेख तथा तस्वीरहरु : अनिल तुलाधर