अस्ट्रेलियाले दक्षिण अफ्रिकामाथि २७६ रनको ठूलो जित, सिरिज भने अफ्रिकाकै पक्षमा

sidhasamachar.com

२०८२ भदौ ८, काठमाडौँ।

अस्ट्रेलियाले तेस्रो एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिकामाथि २७६ रनको विशाल अन्तरले विजयी भएको छ। अष्ट्रेलियाको म्याकायस्थित ग्रेट बेरियर रिफ एरेनामा आइतबार सम्पन्न खेलमा अष्ट्रेलियाले पहिलो ब्याटिङ गर्दै ५० ओभरमा दुई विकेट मात्र गुमाउँदै ४३१ रनको पहाड समान योगफल खडा गर्‍यो।


अष्ट्रेलियाका ट्राभिस हेडले १४२ रनको शतकीय पारी खेले भने कप्तान मिचेल मार्शले १०० रन बनाए। त्यस्तै, क्यामरुन ग्रिनले ५५ बलमै अविजित ११८ रन प्रहार गर्दै अष्ट्रेलियालाई उच्च स्कोरमा पुर्‍याए। यो पारी अष्ट्रेलियाको दोस्रो सबैभन्दा छिटो एकदिवसीय शतक बनेको छ।

जवाफमा दक्षिण अफ्रिका २६.४ ओभरमै १५५ रनमा अलआउट भयो। अष्ट्रेलियाका बलरहरूले निरन्तर दबाब सिर्जना गर्दा अफ्रिकी ब्याट्सम्यानहरू टिक्न सकेनन्।


यस जितसँगै अष्ट्रेलियाले सान्त्वना जित हात पारे पनि तीन खेलको सिरिज भने दक्षिण अफ्रिकाले २–१ ले आफ्नो पक्षमा पारेको छ। खेलमा उत्कृष्ट प्रदर्शन गर्ने ट्राभिस हेड प्लेयर अफ द म्याच बने भने सिरिजभर योगदानको आधारमा दक्षिण अफ्रिकाका केशव महाराज प्लेयर अफ द सिरिज घोषित भए।

यो जितसँगै अष्ट्रेलियाले आगामी प्रतियोगिताहरूमा बलियो पुनरागमन गर्ने संकेत दिएको छ भने दक्षिण अफ्रिकाले सिरिज जितेर आत्मबल थप गरेको छ।


प्रतिक्रिया