बार्सिलोनाका लामिन यामाललाई कोपा ट्रफी, ऐताना बोनमातीलाई लगातार तेस्रो पटक बलोन डि’ओर

sidhasamachar.com


काठमाडौँ, सेप्टेम्बर २५- विश्व फुटबलमा स्पेनका दुई खेलाडीले ऐतिहासिक सफलता हात पारेका छन्। स्पेनको बार्सिलोना क्लबका १८ वर्षे युवा प्रतिभा लामिन यामाल ले २०२५ को प्रतिष्ठित कोपा ट्रफी जितेका छन् भने, महिला फुटबलमा बार्सिलोनाकी स्टार ऐताना बोनमाती ले लगातार तेस्रो पटक बलोन डि’ओर जितेकी छन्।


यामालले गत सिजनमा बार्सिलोनाका लागि उत्कृष्ट प्रदर्शन गर्दै निर्णायक गोल र पास दिए। उनको कौशल, तीब्रता र खेलप्रतिको लगावका कारण उनलाई भविष्यको सर्वोत्कृष्ट खेलाडीका रूपमा विश्वभरका समीक्षकहरूले मान्यता दिएका छन्। यस जितसँगै यामाललाई लियोनेल मेस्सीको उत्तराधिकारीका रूपमा समेत हेरिएको छ।


उता, ऐताना बोनमातीले महिला फुटबलमा आफ्नो अधिपत्य अझै बलियो बनाएकी छन्। तीन वर्ष लगातार बलोन डि’ओर जित्ने दुर्लभ कीर्तिमान कायम गर्दै उनले फुटबलमै इतिहास रचेकी हुन्। बलियो मिडफिल्ड नियन्त्रण, खेल निर्माण गर्ने क्षमता र निर्णायक क्षणमा टोलीलाई अगाडि बढाउने गुणका कारण उनी विश्व फुटबलमा अद्वितीय प्रेरणाको स्रोत बनेकी छन्।


बार्सिलोना समर्थकहरूले सामाजिक सञ्जाल र सडकमा खुसी प्रकट गरेका छन्। प्रशिक्षक तथा विज्ञहरूले क्लबको अकादेमीमा गरिएको लगानी र निरन्तर मेहनतले नै यस्ता प्रतिभाशाली खेलाडी जन्मिएको बताएका छन्।


लामिन यामाल र ऐताना बोनमातीको यो संयुक्त उपलब्धिले बार्सिलोनालाई पुनः विश्व फुटबलको केन्द्रमा ल्याएको छ। फुटबल इतिहासमा २०२५ को वर्ष यी दुई खेलाडीका नाममा विशेष रूपमा अंकित हुनेछ।


प्रतिक्रिया