लेखः Awakened Bungamati
काठमाडौं ,श्रावण २०-न्येकू नेपालमण्डलमा प्रचलित सबैभन्दा पुरानो वाद्यसाधनहरूमध्ये एक हो। यसलाई भैंसीको सिङ्गलाई खोखलो बनाएर चुचुरो भागबाट मुखले फुकेर बजाइन्छ र विशेषगरी गुंला महिनामा चैत्य परिक्रमा र अरु गुंला बाजाहरुसँगै प्रयोग गरिन्छ। न्येकूको ध्वनि कुनै गीत-संगीत झैँ धुनयुक्त नभई लामो, गहिरो र प्रतिध्वनित हुन्छ, जसलाई पराभौतिक कम्पन मानिन्छ र यस लोकबाट परलोकसम्म बितेका आफ्ना पुर्वजसम्म पुग्ने विश्वास गरिन्छ । बौद्ध धर्म अनुसार यसले प्राण (जीवनशक्ति)लाई ध्वनिको रूपमा अर्पण गर्ने शक्ति पनि बोकेको हुन्छ, जसको उद्देश्य आध्यात्मिक चेतना जागृत गर्नु र पुण्य सञ्चय गर्नु पनि हो।
न्येकू बाजाको उत्पत्ति केलाउदा प्रागऐतिहासिक (prehistoric) कालसम्म पुग्छ, जब मानिसहरूले सिङ्ग, शंख, हड्डी जस्ता प्राकृतिक वस्तुहरूलाई धार्मिक ध्वनि साधनको रूपमा प्रयोग गर्दथे। आज पनि किराँती समुदायहरुमा यसको प्रयोग भेटिन्छ - जसलाई पुङ (अर्नाको सिङ ) भनिन्छ। पुङ ढोल-झ्याम्टा सहित साकेला (साकेवा/तोसि) पर्वमा नोक्छो (धार्मिक पुरोहित) को अगुवाइमा बजाइन्छ। किराँतहरूले यसलाई पूर्वज र प्रकृति देवता आव्हान गर्ने साधनको रूपमा प्रयोग गर्दै आएका छन् भने नेवाःहरुले भैंसीको सिङलाई पुर्वजको सम्झना सँगै बौद्ध चैत्य पूजा र धार्मिक परिक्रमामा समेत प्रयोग गरेका छन् ।
यो परम्परा केवल नेपालमै सीमित छैन। भारतका थारू, गोंड र बैगा आदिवासीहरूमा भैंसीको सिङ खेतीपातीको पूजा, बाली रोप्ने वा बाली काट्ने समय, र दुर्गुण तडकाउने विधिमा समेत बजाइन्छ। अफ्रिकामा पनि जुलु र अशान्ति जातिहरूले मृग वा भैंसीको सिङलाई राजकीय समारोह, पूर्वज पूजा र युद्ध संकेतका रूपमा प्रयोग पनि गर्दथे। यहूदी धर्ममा, शोफार (भेडाको सिङ्ग) लाई रोश हशनाह र योम किप्पुर भन्ने पर्वमा पश्चात्ताप र जागरणको ध्वनि भनेर बजाइन्छ। त्यस्तै नर्स (भाइकिङ) र सेल्टिक संस्कृतिमा जनावरका सिङ्ग युद्ध र धार्मिक सभाहरूमा प्रयोग हुन्थ्यो। यसरी हेर्दा, प्राकृतिक रुपमा उपलब्ध जनावरको सिङ्ग संसारभरि एउटा आदिम ध्वनि र मानव र दिव्य/पूर्वजबीचको सेतु बनेको देखिन्छ। तर नेवारहरूको न्येकू बाजा विशेष छ, किनभने यसलाई बौद्ध शुद्धि मार्ग र पुण्यकमाइको साधनमा रूपान्तरण गरिएको देखिन्छ।
नेपालमण्डलको बौद्ध परम्परामा भने न्येकू बाजा उत्पति सम्बन्धि एउटा रोचक कथा रहेको छ ।
आज भन्दा ९१ कल्प अगाडि सत्ययुगको कुरा थियो जुनबेला नेपालमण्डलमा कालीह्रद भनिने ठूलो ताल थियो भने ताल नजिकै बन्धुमती भनिने नगर थियो। केही स्वयम्भू पुराण अनुसार सत्ययुगको बन्धुमती नगरी अहिलेको हाम्रै बुङ्मति थियो भनिएको पनि छ । एक दिन त्यतिबेलाका राजा सुवर्णकेतुका जेठा छोरा पुष्पकेतु बन्धुमती (आजको बुङमति) शहरमा विपस्सी बुद्धको धर्मदेशना सुन्न आए। त्यहाँ पुगेपछि, उनले विपस्सी तथागतलाई एक विहारमा भेटे र सोधे:
“भगवान, ती प्राणीहरूको बारेमा बताइदिनुहोस् जसले साङ्गीतिक वादन सहित चैत्य पूजा गरी मोक्ष प्राप्त गरे, जसमध्ये भैंसीको सिङ्ग बजाउने पनि एक हो।”
विपस्सी बुद्धले उत्तर दिनुभयो:
“श्रावण र कार्तिक महिना चैत्य पूजा तथा संगीत साधनको लागि शुद्ध मानिन्छ। एकचोटि कसरी भैंसीको सिङ्ग बजाएर एक व्यक्तिले निर्वाण पाए भन्ने कथा म तिमीलाई सुनाउँछु। ध्यानपूर्वक सुन ।
कुनैबेला एकपटक शशिपत्तन शहरमा सिंहकेतु नामक एक निर्दयी राजा शासन गर्थे। उनी अत्यन्त क्रूर थिए जसमा कुनै प्राणीप्रतिको सहानुभूति थिएन। हरेक दिन उनी शिकार खेल्न जान्थे र आफ्नो धनुष-वाणले हरिण, बाघ, भालु आदि मारी दिन्थे।
राजाकी रानी सुरक्षाणी धर्ममा आस्थावान थिइन् र कर्मको सिद्धान्तमा पनि विश्वास गर्थिन्। उनलाई डर थियो कि राजाको यो क्रूर व्यवहारले उनलाई भविष्य जन्महरूमा ठूलो दुःख दिनेछ भनेर । उनले बारम्बार राजालाई सम्झाइन्, तर कुनै असर परेन।
अन्ततः राजा बिते, र केही समयपछि रानी पनि।
पुनर्जन्ममा राजा भैंसी भएर जन्मिए भने रानी सुरक्षाणी शशिपत्तनकै एक ब्राह्मण परिवारमा रूपवती नामक सुन्दरी छोरी भएर जन्मिइन्।
जब उनी ठूलो भइन्, उनका पिताले उनलाई जंगलमा भैंसी चराउने काम दिए।
एकदिन, उनले झैँ जंगलमा भैंसी चराइरहेकी थिइन्, चरा गाइरहेका थिए, फूलहरू फुलिरहेका थिए — यत्तिकैमा एक बोधिसत्व सुपारग देखा परे र उनले रूपवतीलाई भने:
“हे रूपवती! तिमीले चराइरहेकी यो भैंसी तिम्रो अघिल्लो जन्मको पति हो। उसले अघिल्लो जन्ममा धेरै प्राणी मारेकाले भैंसीको रूपमा जन्म पाएको हो। यो जीवनमा ऊ अरु हिंस्रक जनावरद्वारा मर्नेछ। यदि तिमी उसलाई सुगति दिलाउन चाहन्छौ भने, उसको अवशेषहरू जम्मा गरेर बालुवा चैत्य बनाऊ। एउटा सिङ्गबाट पानी अर्पण गर र अर्को सिङ्गबाट पूजा गर्ने बेलामा फुकेर ध्वनि निकाल।”
यो भनेपछि बोधिसत्व अदृश्य भए।
केही दिनमै, त्यो भैंसी खोलामा पानी खान गयो र त्यहाँ एक हिंस्रक बाघले आक्रमण गरी मर्न पुगे। रूपवतीले उसका हड्डीहरू सङ्कलन गरी बालुवामा चैत्य निर्माण गरिन्।
बोधिसत्वले भनेझैँ, उनले एउटा सिङ्गबाट पानी अर्पण गरिन् र अर्को सिङ्गबाट फुकेर पूजा गरिन्। उनले यो कर्म प्रत्येक दिन गरिरहिन्।
एक दिन, पूजा गर्ने क्रममा, आकाशबाट रत्नले सजिएको एक ज्योतिर्मय चैत्य तल झर्यो र बालुवा चैत्यसँग विलीन भयो। त्यो स्थान रङ्गीचङ्गी फुलफूलले भरिएको रमणीय ठाँउमा परिणत भयो।
त्यसपछि, सिङ्गबाट एक युवक निस्किए। रूपवती चकित भइन् र सोधिन्:
“तिमी को हौ? कहाँबाट आएका हौ?”
युवकले उत्तर दिए:
“हे रूपवती! म तिम्रो अघिल्लो जन्मको पति राजा सिंहकेतु हुँ। तिमी रानी सुरक्षाणी थियौ। मेरो क्रूर कर्मले गर्दा म पापको लोकमा पुगें र पछिको जीवनमा भैंसी भएर जन्म लिएँ। तर तिमीले चैत्य पूजा, पानी अर्पण र भैंसीको सिङ्ग फुकेर गरेको धर्मकर्मको कारणले म मुक्त भएँ।”
रूपवती अत्यन्तै खुसी भइन्। उनीहरूले तारा देवीको नाम जप्दै, चैत्य परिक्रमा गरे र सिङ्ग फुके। त्यो ध्वनिले सम्पूर्ण शहर गुन्जायमान बनायो।
ध्वनि सुनेर नगरवासीहरू जम्मा भए। रूपवतीले सम्पूर्ण कथा सुनाइन् — बोधिसत्व सुपारगको भविष्यवाणीदेखि लिएर पूजाको फलदायी परिणामसम्म।
जनताले ती युवक र रूपवतीलाई पूर्वज राजा र रानी भनेर चिन्हित गरे। त्यसपछि उनीहरूलाई राजकीय जुलुसमा नगर फर्काए।
युवकको नाम भद्रश्रृङ्ग राखियो, र उनलाई रूपवतीसँगै फेरि राजा-रानी बनाए।
उनीहरूले चैत्य पूजा, साङ्गीतिक समर्पण, र धार्मिक करुणाका शिक्षाहरू प्रचार गरे र दीर्घकाल शासन गरे।
त्यसेले आजसम्म पनि, बुङमती तथा काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा, श्रावण (गुंला) महिनामा, मानिसहरूले यही कथाको कारण भैंसीको सिङ्ग र अन्य वाद्यसाधन बजाउँदै चैत्य परिक्रमा गर्छन्।
यस्तो साङ्गीतिक पूजा र परिक्रमाले आफ्नो र पूर्वजहरूको लागि शुभ कर्म सृजना गर्दछ र निर्वाणको बाट समेत खोल्दछ भनेर विश्वास गरिन्छ ।
सबैलाई गुंलापर्वको शुभकामना !
सहयोग : Folklores of Bungamati, Paryasampada