✒️सुनिल उल्क
बि.सं. १९९० सालको महाभूकम्प
बि.सं. १९९० सालको भूकम्प अगाडि पुस २८ गते हल्का पानी परेको थियो । माघ १ गते माघे संक्रान्ति भएको हुँदा सबै ब्यस्त थिए । माघ २ गते बिहान देखि सोमवारे औसी भएको हुँदा महिलाहरु ब्रत बसेका थिए । किसानहरु घाम चर्को भए पनि आफ्ना उब्जनी बेच्न बजारमा पुगेको हुँदा बजार भिडभाड थियो । सैनिकहरु दिउँसोको कवाजमा ब्यस्त थिए । पण्डितहरुले सात ग्रह एक साथ मकर राशीमा रहेको हुँदा केही भवितव्य हुन सक्ने भविष्यवाणी भने गरिसकेका थिए । तर पनि कसैले विश्वास गरेका थिएनन् ।
बि.सं. १९९० माघ २ गते दिउसो २ बजेर २४ मिनेट २२ सेकेन्ड जाँदा जमिन भित्रबाट अनौठो आवाज सुनिन थाल्यो । मानिसहरुले के को आवाज हो भनेर ठम्याउन नपाउँदै जमिन बेस्सरी हल्लन थाल्यो । पोखरीको पानी पनि छचल्किएर बाहिर हुत्तिएर आउन थाल्यो । रुखका हाँगाहरु जमिनसम्म नुहिन थाले । बिस्तारै घर तथा मन्दिरहरु भत्कन थाले । एकैछिनमा धुलोले चारैतिर अन्धकार हुन थाल्यो । मानिसहरुको कोकोहोलो र रुवावासी सुनिन थाल्यो । काठमाडौको प्रमुख धरहरा र घण्टाघर पनि ढलेर भुइमा टुक्रा टुक्रा भएर झर्यो । जमिन हल्लन रोकिए पछि मानिसहरु आ-आफ्ना मान्छेहरुलाई चिच्याएर बोलाउँदै यता र उता भाग्न थाले । कसैलाई थाहा थिएन अब के गर्ने भन्ने । डर त्रास र हडबडमा मानिसहरु यता उता भाग्न थाले ।
काठमाडौमा गएको भुकम्पको केन्द्र बिन्दु बिहारको सितामढी देखी नजिकै थियो । ८५१९ जना मानिसको मृत्यु भएको सो भुकम्प नेपाली ईतिहासमा भयानक ठुलो घटना थियो । त्यति बेलाका श्री ३ जुद्धशम्शेर पश्चिम नेपालमा शिकारमा गएका थिए भने राजा त्रिभुवन नागार्जुनमा हुनुहुन्थ्यो । धेरै जसो जनरल जुद्ध शम्शेरको साथ गएकोले कामु प्रधान मन्त्री रहेका रुद्रशम्शेरलाई सम्पुर्ण ब्यबस्था मिलाउन निकै कठिन भएको थियो ।
राजधानी उपत्यकामा मात्र ५५,७३९ घरमा क्षति पुगेको थियो । यो भनेको करिव ७० प्रतिशत घरमा क्षति पुगेको थियो । टुँडिखेल र भन्डारखालमा सरकारले पाल लगाइ दिए भने अन्य खाली जमीनमा बाँस र खरको छाप्रो बनाउन निशुल्क उपलब्ध गराइए । नेपालमा पहिलो पटक २,५०,००० थान कर्कटपाता पनि सरकारले मगाइ सस्तोमा जनतालाई उपलब्ध गराइएको थियो । नेपालमा सिमेन्ट पनि पहिलो पटक १९९० को भूकम्प पछी नै नेपाल भित्रीयो । पानी, बिजुली र रोप वे जस्तो महत्व पूर्ण सबैभन्दा पहिले खुल्यो । माघ ७ गते बल्ल टेलिफोन सुचारु भए पछी भारतमा नेपालको भुकम्पको जानकारी पुग्यो र त्यहाँ भएको घटनाको जानकारी पनि बल्ल पाए ।
त्यस बेला पश्चिम ३ नं. पोखरामा भुकम्पको आवाज ठुलो भए पनि खासै असर गरेको थिएन । केवल एक घर मात्र भत्केको थियो । मानिस र बस्तु भाउको नोक्सान भएन ।
त्यति बेला भारतको बिहारमा पनि भूकम्पले असर गरेको भए पनि त्यहाँ ७,१८८ जनाको मात्र निधन भएको थियो । जुन संख्या नेपालको भन्दा १३३१ ले कम थियो । साथै नेपालमा घरवास देवालय तथा पाटीपौवा गरि २,०७,७४० ध्वस्त भएको थियो । नगदको कुनै लेखाजेखो नभएको हुँदा आर्थिक क्षति यति नै भनेर आंकडा तोकिएन तर पनि त्यति बेलाको करोडौ रुपैया बराबरको क्षति भएको थियो ।
काठमाडौ शहर भित्र पुरुष २५४ र महिला २२५ गरि जम्मा ४७९ को मृत्यु भएको थियो भने काठमाडौ शहर बाहिर पुरुष ७९ र महिला १६६ गरि २४५ जनाको मृत्यु भएको थियो । त्यस्तै पाटन शहर भित्र पुरुष २५० र महिला २९७ गरि ५४७, पाटन शहर बाहिर पुरुष ८७१ महिला ८२६ गरि १६९७ जनाको मृत्यु भएको थियो । भक्तपुर शहर भित्र पुरुष ४३३ महिला ७३९ गरि ११७२ र भक्तपुर शहर बाहिर पुरुष ६५ महिला ९१ गरि १५६ जनाको मृत्यु भएको थियो ।
यस्तै पूर्वी पहाडमा जम्मा पुरुष १७९२ र महिला २१८२ गरि ३९७४ जना पश्चिम पहाडमा पुरुष २९ महिला ३६ गरि जम्मा ६५, पूर्वी मधेशमा पुरुष ७७ महिला १०७ गरि १८४ जना गरि राज्यभर जम्मा पुरुष ३८५० महिला ४६६९ गरि जम्मा ८५१९ जनाको मृत्यु भएको थियो ।
यसरी मानिसको मृत्यको साथै धेरै नै घरहरु पनि भत्किएका थिए । पूर्वी पहाड तर्फ १,३४,९३२ घर भत्किएको थियो भने पश्चिम पहाड तर्फ ४,३३९ घर भत्किएको थियो । पूर्व तर्फको क्षति बढि भए पनि पश्चिम तर्फ भने निकै कम भएको थियो ।
सरकारबाट दुइ किसिमको उद्दार तथा सहयोग जुटाइएको थियो । पहिलो सहयोगमा तत्कालै चामल एवं खाद्यान्न वितरण, काठपात खर तथा बाँस उपलब्ध गराइ बासको प्रबन्ध गर्ने, ओढ्ने ओछ्याउनेको ब्यबस्था गरिदिने, घाइतेको उपचार गर्ने, सुत्केरी तथा विरामीको स्याहार गर्ने भयो भने दोश्रो किसिमको सहयोग भने दिर्घकालिन सहयोगमा निजीघर, सरकारी अड्डा बनाउने, पुलहरुको मर्मत तथा निर्माण गर्ने कार्य गरियो ।
त्यति बेला पूर्व १ नं. देखी इलाम तथा पश्चिम ४ नं. सम्म कर्णेलहरु दौडाहामा खटिएका थिए । साथै कास्की र लमजुङमा नापी गर्न भैरु पल्टन तथा सूर्यदल पल्टन खटिएका थिए । भीमफेदी अमलेखगञ्ज बाटो मर्मत गर्न २ पल्टन गएका थिए । श्री ३ को सवारीमा नयाँ मुलुक तर्फ पनि पल्टन गएका थिए । जसले गर्दा सैनिकहरुको मृत्युको संख्यामा कमि आएको थियो ।
भयावह भूकम्पले राजा त्रिभुवनका दुइ छोरीहरुको देहावसान भएको थियो भने श्री ३ जुद्धशम्शेरको नातिनीको पनि मृत्यु भएको थियो । तिनै शहरमा गरि ९,५०० सैनिकहरुलाई तत्कालै उद्दारको लागी खटाइएको थियो ।
फर्पिङको बिजुली अड्डामा पनि क्षति भएको हुँदा बिजुली बन्द भएको थियो । उता वीरगञ्जसम्म जोडिएको टेलिफोनमा पनि क्षति पुगेको हुँदा टेलिफोन सम्पर्क टुटेको थियो । वीरगञ्ज सम्मको टेलिफोन भोलिपल्टै जोडियो । माघको महिना दिन छोटो भएको हुँदा रात छिट्टै पर्थ्यो । फेरी औसीको रात हुँदा निष्पट अन्धकार पनि थियो । जसले गर्दा मानिसहरु डरले पनि जहाँ जहाँ भेट्यो उतै डल्लो भएर सुत्न खोज्थे । आफ्नो मान्छे खोज्न र उद्दार गर्न समयमा नै पाएका थिएनन् ।
कामु प्रधानमन्त्री रहेका रुद्रशम्शेरले भोलिपल्ट नै कामको बाँडफाँड गरेका थिए । हेडक्वाटरको जिम्मा पद्मशम्शेरमा आउनुको साथै राशनको जिम्मा पनि पद्मशम्शेरलाई नै दिइएको थियो । केही दिन पछि राशनको जिम्मा मोहनशम्शेरको काँधमा आयो । उनलाई सघाउन भैरव शम्शेर र विक्रम शम्शेरलाई खटाइयो । औषधी उपचारको जिम्मा ब्रम्हशम्शेरलाई दिइयो । पानीको ब्यबस्थापनको जिम्मा प्रचण्डशम्शेरलाई दिइयो । बिजुली र टेलिफोन मर्मतको जिम्मा कृष्णशम्शेरलाई दिइयो । सहायकको रुपमा चेतशम्शेर र मिस्टर किल्वर्नलाई पनि खटाइयो । जनताको सुरक्षाको जिम्मा पनि पद्मशम्शेरले लिए । पुलिसहरु खटाउने जिम्मा सूर्यशम्शेरले लिए ।
टुँडिखेल भरि सरकारले पाल लगाइ दियो । जहाँ पनि खाली ठाँउ थिए त्यहाँ बस्ने ब्यबस्था मिलाइएको थियो । खानाको ब्यबस्था पनि सरकारले नै मिलाइदिएको थियो ।
श्री ३ जुद्धले ६ गते बल्ल समाचार पाए पछी ९ गते काली किनारमा मृतआत्माको शान्तिको लागी १००० गाइ दान गरेका थिए । भारत विहार तर्फको सडक तथा पुलहरु धेरै भत्किएको हुँदा माघ १५ गते बल्ल यात्रा आरम्भ गरि भिखनाठोरीको बाटो हुदै बिभिन्न कठिनाई पछी माघ २२ मा काठमाडौं पुगेका थिए । माघ २२ मा काठमाडौ पुग्नासाथ टुँडिखेल खरीको बोटमा गइ जनताका लागी सम्बोधन गरेका थिए । उनले भनेका थिए -
भाइ हो ! बडो अफसोसको कुरा छ कि मैले कस्तो नेपाल छोडेको थिएँ, अहिले कस्तो देख्नु पर्यो । के लाग्यो, दैव बिपत्तिलाई सहनु पर्दो रहेछ । उनको लीला अपार छ । यो भयानक भूकम्पले विहार प्रान्तमा पनि मोतिहारी, मुजफ्फरपुर, मुंगेर आदि धेरै शहर नास हुन गए । बाटो जताततै बिग्री रेल समेत बन्द हुन जाँदा आउन ढिला हुन गयो । यत्तिकै नभए पनि यस्तो बिपत्ति ठिक सय बर्ष अगाडि नेपालले भोगेको थियो । उस बखतमा पनि हजारौ घर नास हुन गइ धेरै दिन सम्म साराले छाउनी र यताउतिको मैदानमा बस्नु परेको थियो । त्यस बेलामा बिग्रेको शहर बस्तिको जिर्णोद्वार गरि फेरी जस्ताको तस्तै गराए झै अहिले हामी सबैले हिम्मत नहारी उत्साह बढाइ भएको नोक्सान चाँडो मेट्ने उपायमा तन मन धन लगाउनु पर्दछ । हाम्रो यहाँ त कहिले काँही मात्र ठूलो भूकम्प हुने हो, जापानमा बारम्बार गइरहन्छ तापनि जति पल्ट बिग्रो उति पल्ट पुरानो शहरको जिर्णोद्वार गरिहाल्दछन् । त्यस्तै हामीले पनि उत्साह बढाइ अगाडि बढ्नु पर्दछ, पछि हट्नु हुदैन ।
यसरी निकै लामो भाषण गरेका थिए ।
त्यस वर्ष शिवरात्रीमा भारतबाट आउने तिर्थयात्रुहरुलाई बन्देज लगाइयो । कसैलाई पनि आउन दिइएन । तिर्थयात्रुको भिडलाई ब्यबस्थापन तथा खानपानको ब्यबस्था गर्न कठिन भएको हुँदा पनि बन्देज लगाइएको थियो । बिदेशीहरुले सहयोगको चाहना राखे तर सबैलाई धन्यवाद दिदै अहिले सहायताको दरकार छैन भन्दै सहयोग लिइएन । फागुन १८ गते पुन खरीको बोटमा साहु महाजन तथा शिक्षकहरुको भेला बोलाई सरकारको तर्फबाट सहयोगको आह्वान गरिएको थियो । त्यहि अवसरमा नै श्री ३ जुद्धले आफ्नो तर्फबाट ३ लाख र आफ्नो रानीको तर्फबाट १ लाख राखी भूकम्प पिडितोद्धारक फण्डको गठन गरे । साथै भूकम्प पिडित सहायक ऋण नामक अर्को संस्था पनि खोलेर सो मा सरकारको तर्फबाट ५० लाख जम्मा गरिदिए । चार वर्ष सम्ममा चुक्ता गर्ने गरि निर्ब्याजी रुपमा रकम उपलन्ध गराए । पद्मशम्शेर र गुरुज्यू हेमराजलाई प्रमुख रुपमा खटाइ १९९१ को बैशाख देखी ऋण निकासा भयो ।
यस्तैमा १९९१ को जेठमा ठूलो आँधी हुरी बतास आएर साना साना छाप्राहरु सबै उडाए । यसरी गरिव जनता माथि फेरी अर्को संकट आइलागेको थियो । बेला बेलामा जाने साना पराकम्पनले गर्दा जनतामा त्रास पनि कम भएको थिएन । यस्तैमा जेठ १९ को राती गएको अर्को भूकम्पले केही क्षति भयो । जेठ १९ मा नै प्रधानमन्त्री जुद्ध शम्शेरको जन्म दिन भए तापनि बिशेष उत्सव भने मनाइएन ।
सरकारले परल मुल्यमा काठका दलिन, ४० लाख इँटा, भन्सार र रोपवे दस्तुर माफि गराइ भारतबाट ल्याइएको अढाइ लाख मुल्य बराबरको कर्कट पाता किन्ने ब्यबस्था पनि मिलाइयो । ३ हजार मजदुर उपत्यका बाहिरबाट मगाइ शहरमा रहेको इटा माटो पन्छाउने काम भयो । जसको लागी डेढ लाख रुपैयाको ब्यबस्था गरिएको थियो । पूर्व १ नं देखी इलाम तथा भारभन्ज्याङ भित्रका सबै कर्मचारीलाई ४ महिनाको तलब पेश्की स्वरुप दिएका थिए ।
भूकम्प पछि बिदेशबाट सामान मगाउन सहज होस भनेर नेपाल ट्रेडिङ कम्पनि गठन गरि काठमाडौ र कलकत्तामा अफिस खोलिएको थियो । जसको लागी सरकारबाट डेढ लाख सहयोग प्रदान गरिएको थियो ।
त्यस समयको एउटा आश्चर्यजनक घटना भने मखन टोलको एक पसलमा पुरिएका २ जनालाई सात दिन पछि जिउँदै उद्दार गरिएको थियो । रबरको नलिको सहायताले दुध र औषधी खुवाएर बचाइएको थियो ।
भूकम्पको भवितव्य झेले पछि जनताको मुखबाट भूकम्प आउनुको प्रमुख कारणको रुपमा तीन किसिमको चर्चा बढि सुनियो ।
पहिलो - सात ग्रह एउटै राशीमा परेको हुँदा केही ठूलै घटना घट्ने अनुमान पहिले नै गरिसकेको हुँदा त्यसैको कारण नै हो भन्ने धेरै थिए ।
दोश्रो - पृथ्वीमा बस्नेहरुले धेरै पाप गर्न थाले भने पृथ्वी थाम्ने देवताले एक कुमबाट अर्को कुममा पृथ्वीलाई सार्दा भूकम्प जाने गर्दछ भन्ने पनि तर्क गर्न थालेका थिए ।
तेश्रो - हिमालयको सर्वोच्च शिखरलाई भगवान शिवको बासस्थान मान्ने गर्दथे । यहि उच्च हिमाल सगरमाथामा बि.सं. १९८९ को चैतमा बेलायतीहरुले जहाज लगेर चक्कर काटे । जसको कारणले पनि भूकम्प गएको भन्नेहरु पनि थिए ।
भूकम्पमा मर्नेहरु प्रमुखहरुमा राजा त्रिभुवनका वर्ष १० र वर्ष ८ का दुइ छोरी । ६ जना सुसारेहरु
श्री ३ जुद्धको नातिनी विक्रमशम्शेरको छोरी वर्ष ८ को
मेजर कर्णेल हस्त शम्शेरको रानी र एक छोरा तथा एक छोरी
साहेवज्यू मोहन विक्रम र उनकी श्रीमती
उपत्यकामा भत्किएका दरवारहरुमा
नारायणहिटी दरवार, जावलाखेल दरवार, बिशालनगर (भाटभटेनी) दरवार, लक्ष्मी निवास, शीतल निवास, हरिहर भवन, टङ्गाल दरवार, चारबुर्जा दरवार, सिंहदरवार, बबर महल, सिंहमहल, गोलबैठक
भत्किएका स्मारकहरु तथा सरकारी भवनहरु
धरहरा, घण्टाघर, छाउनी छालाघर, टुँडिखेलको तोपखाना, ठिमीको गठ्ठाघर, काठमाडौको मिलिटरी अस्पताल, नक्सालको छापाखाना, दरवार हाइस्कुल, भादगाँउ स्कुल, भादगाँउ अस्पताल, गुठी तहसिल अड्डा
पुराना मन्दिर तथा दरवारहरुमा
काठमाडौ तलेजुको गजुर मात्र ढल्केको, देगुतले सामुन्नेको स्तम्भ ध्वस्त भएको, काठमाडौको महादेवको मन्दिर भत्किएको, महाविष्णुको मन्दिर पुरै भत्किएको, बसन्तपुर दरवार भत्किएको, रानीपोखरीको हात्ती माथिको सालिक ध्वस्त भएको, पाटनको देगुतले मन्दिर पुरै भत्किएको, च्यासिम देग भत्किएको, महाबौद्ध देवल पुरै भत्किएको, बिश्वेस्वर महादेव पुरै भत्किएको, कुम्भेश्वर पुरै भत्किएको, मछिन्द्रनाथको देवल भत्किएको, भक्तपुरको पचपन्न झ्याले दरवार भत्किएको, पुरानो दरवार भत्किएको, कृष्णदेवल भत्किएको, शिवमन्दिर, विष्णुमन्दिर, भैरव मन्दिर तथा बाराही मन्दिर पातालै भएको ।
भूकम्प पिडितोद्धाराक संस्थामा जम्मा १० लाख ७५ हजार रुपैया तथा भारु २६,२०० जम्मा भएको थियो । जसमा श्री ३ र भाइभारदारबाट १० लाख पचास हजार जम्मा गरिएको थियो । अन्य नेपालीहरुबाट २५ हजार नेपाली तथा भारु जम्मा भएको थियो । साथै बिदेशबाट २२ हजार रुपैया र २१ हजार भारु जम्मा हुन आएको थियो । जसमध्य बेलायतले केवल २८०० रुपैया जापानले ८९०० तथा १०५०० रुपैया र २१ हजार भारु जम्मा हुन आएको थियो ।
नयाँ घर बनाउदा सरकारले नियम बनाइएको थियो । जसमा
- घरको जग कम्तिमा १ गज हुनुपर्ने ।
- इँटा सकभर पालिसदार इँटा प्रयोग गर्ने ।
- घरको भित्ताहरु दाँति मिलाएर जोड्ने ।
- झ्याल झ्याल बिचमा खालि ठाँउ राख्ने ।
- पोका पोकी औ मोफतको बुट्टा सकभर नराख्ने ।
- सकेसम्म फलामको सत्तरी र सिमेन्ट लगाएर घर बनाउने । अथवा चुना बज्रको लगाउने ।
- इटको लट्ठा (पिलर) भन्दा काठको लगाउने ।
- गुम्बज नबनाउने । ढोका झ्यालमाथि कोपा हाल्ने ।
- घर जति कम उच्चा भयो उति बढिया हुन्छ ।
- छानो बढिया हाल्ने । कर्कतपाता नपाउनेले मट्टितेलको टिनको छानो लगाउने ।
- धनिहरुले कङक्रिटको घर बनाउनु । बज्रको गारो राखि झ्यालहरुमा कोपु राख्नु ।
- साधारण मानिसले माटोको गारो लगाउनु । सानो सानो घर बनाउनु ।
भविष्यमा यस किसिमको भवितव्यको जानकारी पहिले होस भनेर बि.सं. १९९१ चैतमा नेपाल सरकारले बेलायतबाट सिस्नोग्राफ मगाउनुको साथै बेलायतबाट नै बिज्ञको रुपमा जे वि अडेनलाई पनि बोलाएको थियो ।