काठमाडौं, भदौ २८ – पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीले आज प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गरेकी छिन्। राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गरी उनले अन्तरिम सरकारको नेतृत्व सम्हालेकी हुन्। यससँगै कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकी छिन्।
पदभार सम्हाल्ने क्रममा उनले गरेको पहिलो निर्णय भने जेन जि आन्दोलनमा ज्यान गुमाएका युवाहरुप्रति केन्द्रित रह्यो। कार्कीले आन्दोलनमा मारिएका युवाहरुलाई ‘सहिद’ घोषणा गर्दै प्रत्येक मृतक परिवारलाई तत्काल राहतस्वरूप १० लाख रुपैयाँ दिने निर्णय गरिएको छ।
प्रधानमन्त्री कार्कीले भनेकी छिन्, “यो सरकार युवा पुस्ताको बलिदानको सम्मान गर्न जन्मिएको हो। ज्यान गुमाएका सहिदलाई हाम्रो श्रद्धाञ्जली केवल शब्दमा सीमित रहनु हुँदैन, राज्यले व्यवहारिक जिम्मेवारी लिनुपर्छ।”
उनले आन्दोलनमा घाइते भएका करिब ४०० भन्दा बढी युवाहरूको उपचार खर्च सरकारले नै व्यहोर्ने र दीर्घकालीन पुनर्स्थापना कार्यक्रम पनि अघि सारिने घोषणा गरिन्।
यसअघि जेन जि आन्दोलनले संसद विघटन, सांसदहरूको सामूहिक राजीनामा, दमन गर्ने उच्च अधिकारीहरूको निलम्बन, र अन्तरिम सरकार गठनको माग अघि सारेको थियो। तीमध्ये अन्तरिम सरकार गठनको माग पूरा भएपछि कार्की नेतृत्वको सरकारले अब बाँकी मागलाई समेत सम्बोधन गर्ने संकेत दिएको छ।
राजनीतिक विश्लेषकहरूले कार्कीको यो कदमलाई आन्दोलनले सिर्जना गरेको जनदबाबप्रतिको तत्कालिक प्रतिक्रिया मात्र नभई नेपालमा नयाँ राजनीतिक अभ्यासको सुरुवातका रूपमा व्याख्या गरेका छन्।