भरतपुर, चितवन। नेपाल विद्युत प्राधिकरणको भरतपुर वितरण केन्द्रले पश्चिम चितवन र माडी क्षेत्रमा दैनिक ६ घण्टा विद्युत कटौती (लोडसेडिङ) गर्ने तालिका सार्वजनिक गरेको छ। प्राधिकरणका अनुसार, भरतपुर ३२/३३ के.भी. सबस्टेशनबाट १३ के.भी. डिग कन्डक्टरमा ३०० एम्पियरभन्दा बढी विद्युत प्रवाह गर्न नसक्ने अवस्थाका कारण यो समस्या आएको हो। यसको समाधानका लागि हाल नयाँ सबस्टेशनबाट विद्युत आपूर्ति गर्ने कार्य अगाडि बढेको छ भने १३ के.भी. प्रसारण लाइन निर्माणको क्रम पनि जारी छ।
विद्युत मागमा अस्वाभाविक वृद्धि र अपर्याप्त आपूर्ति क्षमताका कारण लोडसेडिङ गर्नुपरेको प्राधिकरणले जनाएको छ। विशेषगरी, अत्यधिक गर्मी र यस वर्ष समयमा आकाशे पानी नपरेका कारण सिँचाइका लागि विद्युतको माग बढेर ४५० एम्पियरसम्म पुगेको छ, तर सो अनुरूप आपूर्ति दिन नसक्दा लोड व्यवस्थापनमा कठिनाइ भएको छ।
यसै परिस्थितिलाई मध्यनजर गर्दै, २०८२ साल साउन ११ गतेदेखि लागू हुने गरी लोडसेडिङ तालिका सार्वजनिक गरिएको छ। जसअनुसार, नारायणी-माडी फिडरअन्तर्गतका क्षेत्रमा बिहान ६:०० बजेदेखि दिउँसो १:०० बजेसम्म र दिउँसो ३:०० बजेदेखि ६:०० बजेसम्म विद्युत कटौती हुनेछ। त्यसैगरी, मेघौली-विजय नगर-शुक नगर फिडरमा बिहान ७:०० बजेदेखि बिहान १२:०० बजेसम्म र बेलुका ६:०० बजेदेखि ९:०० बजेसम्म लोडसेडिङ हुनेछ। जगतपुर-रामपुर फिडरका लागि भने दिउँसो १२:०० बजेदेखि ३:०० बजेसम्म र बेलुका ९:०० बजेदेखि १२:०० बजेसम्म विद्युत आपूर्ति बन्द हुने तालिका रहेको छ।
लोडसेडिङको तालिका प्रकाशन भएसङ्गै चितवन बासिले कुलमान घिसिङलाई झल्झल्ती सम्झेका छ्न भने कुलमानलाइ हटाउने वर्तमान प्रधानमन्त्री ,उर्जामन्त्री र वर्तमान विद्युत प्राधिकरणका कार्यकारी प्रमुखको चर्को आलोचना गर्न थालेका छन् ।
नेपाल विद्युत प्राधिकरणले यसबाट ग्राहक वर्गमा पर्न गएको असुविधाप्रति क्षमा मागेको छ। प्राधिकरणले लोड व्यवस्थापनमा सुधार हुनेबित्तिकै लोडसेडिङ तालिका परिवर्तन गरिने जानकारी पनि दिएको छ। यो समस्या नयाँ सबस्टेशनको निर्माण सम्पन्न भएपछि स्थायी रूपमा समाधान हुने अपेक्षा गरिएको छ भने पनि सो कहिले हुने हो टुंगो भएको दिखिन्न।