फ्रान्समा बजेट कटौतीविरुद्ध आठ दिनदेखि जारी प्रदर्शन, पेरिससहित ठूला शहर ठप्प

sidhasamachar.com

पेरिस, १८ सेप्टेम्बर - फ्रान्समा सरकारले प्रस्तुत गरेको २०२६ को बजेट प्रस्तावविरुद्ध व्यापक विरोध प्रदर्शन आठ दिनदेखि निरन्तर जारी छ। “Bloquons tout” नाम दिइएको यो आन्दोलन १० सेप्टेम्बर २०२५ मा सुरु भएको हो। यसअन्तर्गत १८ सेप्टेम्बरमा राजधानी पेरिससहित देशका प्रमुख सहरहरूमा ठूलो संख्यामा नागरिक सडकमा उत्रिएका छन्।

शिक्षक, स्वास्थ्यकर्मी, यातायात कर्मचारी, विद्यार्थी र श्रमिकसम्मको सहभागिता रहेको आन्दोलनले सार्वजनिक जीवनमा ठूलो असर पारेको छ। रेल, बस र मेट्रो सेवामा अवरोध पुगेको छ भने विद्यालय र अस्पताल सेवासमेत प्रभावित भएका छन्। राजधानीमा प्रहरीको कडा निगरानीबीच प्रदर्शन भए पनि अहिलेसम्म ठूलो झडप नभएको बताइएको छ।

सरकारले खर्च कटौतीलाई अर्थतन्त्र सन्तुलनमा ल्याउन आवश्यक ठहर गरेको छ। तर, आन्दोलनकारीहरूले यो नीति सामाजिक न्यायविरुद्ध रहेको र शिक्षा, स्वास्थ्य, यातायातजस्ता आधारभूत सेवामा प्रत्यक्ष प्रहार गर्ने आरोप लगाएका छन्।

विश्लेषकहरूका अनुसार यो आन्दोलन केवल बजेट कटौतीविरुद्धको प्रतिकार मात्र होइन, पछिल्ला वर्षहरूमा बढ्दो सामाजिक असमानता र जीवनस्तरमा आएको गिरावटप्रतिको असन्तुष्टिको अभिव्यक्ति पनि हो। उनीहरू भन्छन्, “यो आन्दोलनले फ्रान्स सरकार र नागरिकबीच बढ्दो दूरीलाई झल्काउँछ, जसको प्रभाव यूरोपेली संघको राजनीतिक वातावरणमै पर्न सक्नेछ।”

आन्दोलनकारीहरूले माग पुरा नभएसम्म आन्दोलन अझ तीव्र बनाउने चेतावनी दिएका छन्। अब सरकार वार्ता गरेर सम्झौता गर्न तयार हुन्छ वा आन्दोलन अझै फैलिन्छ भन्ने विषय फ्रान्सको राजनीतिक भविष्यमा निर्णायक हुने देखिएको छ।


प्रतिक्रिया