नेकपा (माओवादी केन्द्र) को सातौँ पूर्ण बैठक सम्पन्न, महाधिवेशन मंसिरमा

sidhasamachar.com


काठमाडौं, असोज १० – नेकपा (माओवादी केन्द्र) को सातौँ पूर्ण बैठक विभिन्न महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ। बैठकले पार्टीलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्ने, आन्तरिक सुधारका लागि कार्यविधि बनाउने, तथा नयाँ पुस्तालाई प्राथमिकतामा राख्ने रणनीति पारित गरेको छ।


बैठकले अध्यक्ष प्रचण्डको संयोजकत्वमा केन्द्रिय समितिलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्ने निर्णय गरेको छ। साथै पदाधिकारीहरूलाई आयोजक समितिको सचिवालयमा परिणत गर्ने र आगामी महाधिवेशन मंसिरमा गर्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ।


नेता–कार्यकर्ताहरूको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने, पारिवारिक सदस्यहरूका विषयमा कार्यविधि बनाएर निर्णय गर्ने, संस्कार, कार्यशैली र चालचलनसम्बन्धी नीति बनाउनुपर्ने निष्कर्ष बैठकले निकालेको छ। प्रचण्डले प्रस्तुत गरेको प्रस्ताव पारित हुनुका साथै वरिष्ठ उपाध्यक्ष र उपमहासचिवका सुझावलाई समेत समेटेर महाधिवेशनसम्म छलफल गर्दै जाने निर्णय गरिएको छ।


युवापुस्ताको बढ्दो भूमिकालाई ध्यानमा राख्दै Gen Z लाई पार्टीका सबै कमिटीमा अधिकतम सहभागी गराउने, युवाहरूलाई प्राथमिकतामा राख्ने र आईटी कार्यलाई उच्च प्राथमिकतामा अघि बढाउने निर्णय बैठकले गरेको छ। साथै विभिन्न विचार मिल्ने पार्टीहरूसँग एकता गर्ने दिशामा पनि कदम चालेको छ।


राजनीतिक परिवेशमा जारी Gen Z आन्दोलन र त्यसले ल्याएको नयाँ चेतनाबारे पनि बैठकमा गहिरो छलफल भएको स्रोत बताउँछ। माओवादी केन्द्रले अन्तरिम संविधानपछि आउने राजनीतिक यात्रामा आफ्नो भूमिका अझ सशक्त बनाउनुपर्ने निष्कर्ष निकाल्दै, आगामी फाल्गुन २१ गते तोकिएको संघीय निर्वाचनलाई दृष्टिगत गरी रणनीतिक तयारी गर्नुपर्नेमा जोड दिएको छ।


यसैबीच,  कांग्रेस र  एमाले नेतृत्वमा तत्काल परिवर्तन नगर्ने सोचमा रहेको राजनीतिक वृत्तमा चर्चा भइरहेको छ। माओवादी केन्द्र भने नयाँ पुस्ताको नेतृत्व, संगठनात्मक शुद्धता र एकतालाई आधार बनाएर आगामी राजनीतिक बाटो तय गर्ने तयारीमा रहेको देखिन्छ।

यसरी सातौँ पूर्ण बैठकले माओवादी केन्द्रको आगामी महाधिवेशन र राष्ट्रिय राजनीतिको दिशाबारे ठोस खाका कोरेको छ, जसको प्रभाव नेपालकै भविष्य राजनीतिक समीकरणमा देखिने अपेक्षा गरिएको छ।


प्रतिक्रिया