काठमाडौं, भदौ २७ – जेन–जी आन्दोलनको मागअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्रीको रूपमा नियुक्ति गरेका छन्। कार्कीले अब अन्तरिम सरकारको नेतृत्व गर्ने भएकी छिन्।
राष्ट्रपतिले संविधानको धारा ६१ लाई आधार मानेर कार्कीलाई नियुक्त गरेका हुन्। उक्त धारा अन्तर्गत उपधारा ३ मा “राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने” भन्ने उल्लेख छ भने उपधारा ४ मा “संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ” भन्ने व्यवस्था छ। यही प्रावधानलाई टेकेर राष्ट्रपतिले कार्कीलाई मन्त्रिपरिषद्को अध्यक्ष बनाइएका हुन्।
जेन–जी समूहले संसद विघटन, सामूहिक राजीनामा, दमनकारी उच्च अधिकारीलाई निलम्बन, र आफूहरूले सिफारिस गरेको व्यक्तिलाई अन्तरिम सरकारको नेतृत्वमा ल्याउनुपर्ने माग गर्दै निरन्तर आन्दोलन गरिरहेको थियो। यस क्रममा राज्यद्वारा गोली प्रहारका कारण युवाहरूको मृत्यु भएपछि आन्दोलनले व्यापकता पाएको थियो।
सुशीला कार्की नेपालको पहिलो महिला प्रधानन्यायाधीश रहेकी थिइन्। उनको इमानदार छवि र निष्पक्ष भूमिकाका कारण युवाहरूले नेतृत्वका लागि सिफारिस गरेका थिए। कार्की प्रधानमन्त्री नियुक्त भएपछि अब अन्तरिम मन्त्रिपरिषद गठन हुने प्रक्रिया सुरु हुने बताइएको छ।