समानुपातिक मतगणना सकियो: रास्वपा सबैभन्दा ठूलो, दुई तिहाइका लागि २ सिट अपुग

sidhasamachar.com


काठमाडौं ,फाल्गुन २७- प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ कुल १ करोड ७ लाख ३९ हजार ११५ मत सदर भएको छ। यही मतको आधारमा प्रतिनिधिसभामा रहेको ११० समानुपातिक सिट दलहरूबीच बाँडफाँट गरिनेछ।

समानुपातिक निर्वाचन प्रणाली अनुसार सिट बाँडफाँट गर्न प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनले स्पष्ट विधि तय गरेको छ। यस प्रणालीमा सबै दलले प्राप्त गरेको कुल सदर मत निकालेर त्यसको आधारमा दलको मत प्रतिशत गणना गरिन्छ। तर ऐनले कुल सदर मतको ३ प्रतिशतभन्दा कम मत प्राप्त गर्ने दललाई सिट बाँडफाँट प्रक्रियाबाट बाहिर राख्ने (थ्रेसहोल्ड) व्यवस्था गरेको छ।

अन्तिम मत परिणाम अनुसार समानुपातिकतर्फ विभिन्न दलहरूले प्राप्त गरेको मत यस प्रकार रहेको छ:

रास्वपाले ५१ लाख ३९ हजार २३५ मत (४७.८६ प्रतिशत) प्राप्त गरेको छ।

नेपाली कांग्रेसले १७ लाख ४९ हजार ५८३ मत (१६.२९ प्रतिशत) पाएको छ।

एमालेले १४ लाख ४८ हजार ८५४ मत (१३.४९ प्रतिशत) प्राप्त गरेको छ।

नेकपाले ८ लाख ५ हजार ७७३ मत (७.५० प्रतिशत) पाएको छ।

श्रम संस्कृति पार्टीले ३ लाख ७८ हजार ६४९ मत (३.५३ प्रतिशत) प्राप्त गरेको छ।

राप्रपाले ३ लाख २९ हजार ४७२ मत (३.०७ प्रतिशत) पाएको छ।

यसपछि रहेका जसपाले १ लाख ७४ हजार ३१७ मत (१.६२ प्रतिशत) तथा जनमत पार्टीले ७८ हजार ९७३ मत (०.७३ प्रतिशत) प्राप्त गरे पनि ३ प्रतिशतको थ्रेसहोल्ड पार गर्न नसकेकाले उनीहरू सिट बाँडफाँट प्रक्रियामा समावेश हुँदैनन्।

थ्रेसहोल्ड पार गर्ने ६ दलले प्राप्त गरेको कुल मत ९८ लाख ५१ हजार ५६६ हुन्छ। यही मतलाई कुल समानुपातिक सिट संख्या ११० ले भाग गर्दा ८९ हजार ५६० मत आउँछ, जसलाई सिट बाँडफाँटको ‘भाजक’ मानिन्छ।

पहिलो चरणमा प्रत्येक दलले प्राप्त गरेको मतलाई यही भाजकले भाग गरेर प्रारम्भिक सिट निर्धारण गरिन्छ। यसरी गणना गर्दा रास्वपाले ५७ सिट, कांग्रेसले १९ सिट, एमालेले १६ सिट, नेकपाले ८ सिट, श्रम संस्कृति पार्टीले ४ सिट र राप्रपाले ३ सिट प्राप्त गर्छन्। यस चरणमा जम्मा १०७ सिट बाँडफाँट हुन्छ।

बाँकी ३ सिट भने प्रत्येक दलको बाँकी रहेको मतको आधारमा वितरण गरिन्छ। बाँकी मतको हिसाबमा क्रमशः नेकपा (८९,२९३), राप्रपा (६०,७९२) र कांग्रेस (४७,९४३) अगाडि देखिएकाले ती दलले एक–एक सिट थप पाउँछन्।

यसरी अन्तिम रूपमा समानुपातिकतर्फ रास्वपा ५७ सिट, कांग्रेस २० सिट, एमाले १६ सिट, नेकपा ९ सिट, श्रम संस्कृति ४ सिट र राप्रपा ४ सिट प्राप्त गर्ने देखिएको छ।

प्रत्यक्षतर्फको परिणामसँग जोड्दा आगामी प्रतिनिधिसभामा रास्वपाको १२५ प्रत्यक्ष + ५७ समानुपातिक = १८२ सिट हुने देखिन्छ। कांग्रेसको १८ प्रत्यक्ष + २० समानुपातिक = ३८ सिट, एमालेको ९ + १६ = २५ सिट, नेकपाको ८ + ९ = १७ सिट, श्रम संस्कृतिको ३ + ४ = ७ सिट र राप्रपाको १ + ४ = ५ सिट हुने देखिएको छ।

प्रतिनिधिसभामा कुल २७५ सदस्य रहने व्यवस्थाअनुसार दुई तिहाइ बहुमतका लागि १८४ सिट आवश्यक पर्छ। हालको गणनाअनुसार १८२ सिट पुगेको रास्वपालाई दुई तिहाइ बहुमत प्राप्त गर्न अझै २ सिट अपुग देखिएको छ।

प्रतिक्रिया