आज सहिद दिवस !

sidhasamachar.com

काठमाडौं । आज माघ १६ गते देशभर विभिन्न कार्यक्रमका साथ सहिद दिवस मनाइँदैछ, निरंकुश शासनविरुद्धको लामो ऐतिहासिक संघर्षमा प्राण आहुति दिने ज्ञात–अज्ञात सहिदहरूको स्मरण गर्दै राष्ट्रले उनीहरूको त्याग, बलिदान र योगदानप्रति श्रद्धा र सम्मान व्यक्त गरिरहेको छ, नेपालमा प्रजातन्त्र र गणतन्त्र स्थापनाको यात्रामा राणा शासनविरुद्धको आन्दोलनदेखि २०४६ सालको जनआन्दोलन, २०६२/६३ को दोस्रो जनआन्दोलन र त्यसपछिको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनासम्म आइपुग्दा सयौं सहिदहरूले आफ्नो जीवन राष्ट्र र जनताका लागि समर्पण गरेका थिए, सहिदहरूको त्यागकै कारण आज नेपाली जनताले बोल्ने, संगठित हुने, मतदान गर्ने र आफ्ना प्रतिनिधि चुन्ने लोकतान्त्रिक अधिकार प्राप्त गरेका छन् भने सहिद दिवसले ती अधिकारको रक्षा र सुदृढीकरण गर्ने ऐतिहासिक जिम्मेवारी सबै नागरिकको काँधमा रहेको सन्देश पनि दिएको छ।

नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहासमा वि.सं. १९९७ साल विशेष महत्वको वर्षका रूपमा स्मरण गरिन्छ, सोही वर्ष राणा शासनविरुद्ध आवाज उठाएको अभियोगमा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठलाई मृत्युदण्ड दिइएको थियो, यी चार मुख्य सहिदको बलिदानले नेपाली समाजमा राजनीतिक चेतना फैलाउन निर्णायक भूमिका खेलेको थियो र निरंकुशताविरुद्ध जनतालाई संगठित तथा सचेत बनाउने आधार तयार गरेको थियो, उनीहरूको साहस, दृढता र त्यागले पछि आएका आन्दोलनहरूलाई प्रेरणा प्रदान गर्दै प्रजातन्त्र प्राप्तिको बाटो अझ स्पष्ट बनायो।

सहिद दिवसका अवसरमा शहीद गेट तथा देशका विभिन्न सहिद स्मारकहरूमा श्रद्धाञ्जली कार्यक्रम, प्रभातफेरी, गोष्ठी, अन्तरक्रिया र सांस्कृतिक कार्यक्रम आयोजना भइरहेका छन्, राजनीतिक दलका नेता, नागरिक समाज, विद्यार्थी र सर्वसाधारणले पुष्प अर्पण गर्दै सहिदका सपना साकार पार्न सुशासन, लोकतन्त्र, मानवअधिकार, सामाजिक न्याय र राष्ट्रिय स्वाभिमानको रक्षा गर्नुपर्ने प्रतिबद्धता व्यक्त गरेका छन्, सहिद दिवस केवल विगतको सम्झना मात्र नभई वर्तमान र भविष्यका लागि लोकतान्त्रिक मूल्य–मान्यता संरक्षण गर्ने संकल्पको दिनका रूपमा पनि लिइँदै आएको छ, किनकि प्रजातन्त्र र गणतन्त्र सहिदहरूको अमूल्य रगत र बलिदानबाट प्राप्त भएको ऐतिहासिक उपलब्धि हुन् र ती उपलब्धिको रक्षा गर्नु आजको पुस्ताको ऐतिहासिक दायित्व हो।

प्रतिक्रिया