काठमाडौं ,माघ ६- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि आज माघ ६ गते देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न भएको छ। निर्वाचन आयोगको कार्यतालिका अनुसार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयन दर्ता कार्यक्रम सञ्चालन गरिएको थियो।
निर्वाचन आयोगले सबै जिल्ला निर्वाचन कार्यालयमार्फत राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूबाट उम्मेदवारी दर्ता गराएको जनाएको छ। उम्मेदवारी दर्ताका क्रममा उम्मेदवारहरूले नागरिकता प्रमाणपत्र, मतदाता परिचयपत्र तथा अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको प्रमाण पेश गरेका थिए।
आज सम्पन्न दर्ता प्रक्रियामा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल उज्यालो पार्टी लगायतका दलहरूका उम्मेदवारहरूले विभिन्न निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएका छन्। यसका साथै देशभरबाट उल्लेख्य संख्यामा स्वतन्त्र उम्मेदवारहरूले पनि मनोनयन दर्ता गराएका छन्।
निर्वाचन आयोगका अनुसार उम्मेदवारी दर्ता सम्पन्न भएसँगै प्रारम्भिक उम्मेदवार सूची प्रकाशन गरिएको छ। अब उजुरी दर्ता, दाबी–विरोध, छानबिन तथा अन्तिम उम्मेदवार सूची प्रकाशनको प्रक्रिया कार्यतालिका अनुसार अघि बढाइनेछ। अन्तिम नामावली सार्वजनिक भएपछि उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गरिने आयोगले जनाएको छ।
उम्मेदवारी दर्ताका क्रममा कुनै अव्यवस्था नहोस् भन्ने उद्देश्यले निर्वाचन कार्यालय वरपर कडा सुरक्षा व्यवस्था अपनाइएको थियो। आयोगले दर्ता प्रक्रिया शान्त, सुरक्षित र मर्यादित रूपमा सम्पन्न भएको जनाएको छ।
प्रतिनिधि सभामा कुल २७५ सिटमध्ये १६५ सिट प्रत्यक्ष निर्वाचन प्रणाली र ११० सिट समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुने संवैधानिक व्यवस्था छ। प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता सम्पन्न भएसँगै देशभर चुनावी गतिविधि थप तीव्र बनेको छ।
निर्वाचन आयोगका अनुसार फागुन २१ गते एकै चरणमा देशभर मतदान हुनेछ। आयोगले निष्पक्ष, स्वतन्त्र र विश्वसनीय निर्वाचन सम्पन्न गराउन बाँकी तयारीलाई तीव्रता दिएको जनाएको छ।